बीआरआई कार्यान्वयनमा विवाद भइरहेका बेला काठमाडौं आइपुग्यो चिनियाँ उच्चस्तरीय टोली

काठमाडौँ  —  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला चीनको एक उच्चस्तरीय टोली भने काठमाडौं आइपुगेको छ। चीनको स्वशासित क्षेत्र सिजाङ प्रान्तस्थित विदेश मामिला कार्यालयका उपमहानिर्देशक Liu Lin नेतृत्वमा ६ सदस्यीय टोली मंगलबार काठमाडौं आइपुगेको हो।

चाइना एयरबाट आएको उक्त टोलीलाई नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। टोलीमा Ms. Pabu zhuoma, Ciren Yangzi, Peng Yuanyuan र Mr. Basang, Zhou Zian रहेका छन्।

शनिबारसम्म काठमाडौंमा रहने उक्त टोलीले केही सरकारी अधिकारी र राजनीति दलका शीर्ष नेताहरूसँग छलफल गर्नेछ। उनीहरूले आजदेखि दलका नेताहरूसँगको छलफल सुरू गरिसकेका छन्।

स्रोतका अनुसार बीआरआई परियोजना कार्यान्वयनका विषयलाई लिएर सत्तारूढ दलहरूबीच नै विवाद भइरहेका बेला चीनबाट गुपचुप रूपमा आएको उच्च स्तरीय टोलीको भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि (बिहीबार) बेइजिङ जाँदैछिन्। मंसिर १५ गतेसम्म परराष्ट्रमन्त्री राणा बेइजिङमा रहेर प्रधानमन्त्रीको भ्रमणका एजेन्डाहरू तयारी गर्नेछिन्।

Nabil bank

बीआरआई ऋण कि अनुदानमा लिने विषयमा विवाद भइरहेको छ। प्रधानमन्त्री ओलीले सहुलियतपूर्ण ऋणमै भए पनि बीआरआई कार्यान्वयन गर्न मनस्थिति बनाए पनि नेपाली कांग्रेसको विरोधकै कारण प्रधानमन्त्रीसमेत त्यसबाट पछि हटेका छन्। प्रधानमन्त्री ओलीले ऋणमा बीआरआई स्वीकार गर्न नसकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईका परियोजनाहरू अनुदानमा लिनेगरी गृहकार्य थाल्न सरकारलाई सुझाव दिएका छन्।