गणतन्त्र सेनानी कोषले प्रचण्डसहित पूर्वकमान्डरहरूलाई सम्मान गर्ने

काठमाडौँ — गणतन्त्र सेनानी कोषले पूर्वजनमुक्ति सेनाका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डसहितका योद्धाहरूलाई सम्मान गर्ने भएको छ । गणतन्त्र प्राप्तिका लागि सशस्त्र सङ्घर्षमा सहभागी भएर योगदान गरेका योद्धाहरूलाई सम्मान गर्ने उद्देश्यसहित प्रचण्डबाट सुरु गर्न लागिएको कोषका अध्यक्ष सरल सहयात्री पौडेलले बताए ।

बुधबार मध्यान्ह १२ः१० बजे राष्ट्रिय नाचघर जमलमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योद्धाहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । उनका अनुसार यसपटक गणतन्त्र सेनानी सम्मानको उद्घाटन स्वरूप कोषले प्रचण्डलाई सम्मान गर्नेछ । यस्तै पूर्वजनमुक्ति सेनाका डेपुटी कमान्डर एवं पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, डेपुटी कमान्डरहरू पूर्व अर्थ एवं ऊर्जा मन्त्री वर्षमान पुन, पूर्व अर्थ, गृह एवं ऊर्जा मन्त्री जनार्दन शर्मा र पूर्व कृषि मन्त्री चन्द्रप्रकाश खनाल गणतन्त्र कमान्डरको रूपमा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी तोकिएको मापदण्डभित्र परेका बागमती प्रदेशको १३ वटा जिल्लाबाट एक–एकजना र सांस्कृतिक योद्धाबाट समेत गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गरिने उनले बताए ।

नेपालमा गणतन्त्रको स्थापनाका लागि २००७ साल र त्यसअघि र पछि भएका सानाठुला सशस्त्र प्रयासहरू भएपनि संघीय गणतन्त्र नेपालको सपनालाई साकार पार्ने कार्य २०५२ सालको जनयुद्ध, ०६२६३ सालको जनआन्दोलन र मधेस आन्दोलनले गरेको उनको भनाइ थियो । गणतन्त्र सेनानी कोषले क्रमशः इतिहास देखी वर्तमानसम्मका योद्धाहरूलाई सम्मान गर्दै उनीहरूको योगदानलाई स्थापित गर्दै उनले जानकारी दिए । यसअघि सम्मान गर्ने कार्यक्रम राखिएको कार्यक्रम कारणवश स्थगित भएको उनले बताए ।