रवि लामिछानेलाई रातारात लगियो पोखरा

काठमाडौँ — सहकारीको रकम अपचलनमा मुछिएपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातारात पोखरा लागिएको छ। बुधबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले बयान लिएर सकाएपछि रातारात पोखरा लगिएको हो।

लामिछानेलाई चितवन ल्याएपछि रास्वपाले बुधबार भरतपुरमा प्रदर्शन गरेको थियो। दिउँसो केही बेर जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो। झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए।

रविको मंगलबार र बुधबार दुई दिन बयान लिइएको थियो। पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा बयान लिइसकेपछि पोखरा लगिएको छ।

लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप छ। जुन आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते उनी सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

यस्तै लामिछानेविरुद्ध पर्सामा  पनि पक्राउ पुर्जी जारी भएको छ। वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न बुधबार पर्सा जिल्ला अदालतले लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी सहित १४ जनालाई पक्राउ अनुमति दिएको थियो।

लामिछाने प्रबन्ध निर्देशक रहेका वेला उक्त सहकारीबाट करिब आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य प्रहरीले फेला पारेको छ।  यसअघि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा उनलाई काठमाडौँ ल्याएर बयान लिइएको थियो।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेको आरोप छ।  लामिछाने कात्तिक २ गते काठमाडौँको पार्टी कार्यालयबाट पक्राउ परेका थिए।