माओवादीको निष्कर्ष: उपनिर्वाचन ‘निकै राम्रो’, ०८४ मा एक्लै लड्ने

काठमाडौँ — नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले स्थानीय तहको उपनिर्वाचन ‘निकै राम्रो’ भएको निष्कर्ष निकालेको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको शिक्षाबाट २०८४ मा पनि एक्लै निर्वाचन लड्ने निर्णय लिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।

‘उपचुनावले निकै राम्रो सन्देश प्रवाह गरेको छ,’ उनले भने,‘हामीले पहिला केन्द्रीय कार्यालय, स्थायी समिति र त्यसपछि परामर्श बैठकबाट पार्टीले गरेका कामका बारेमा सुशासन, सामाजिक न्यायसहितको सुशासन र समृद्धिका सवाल र एक्लै चुनाव लड्ने निर्णय मुताबिक एक्लै चुनावमा गयौँ । जसमा राम्रो नतिजा आएको छ।’

कतिपय स्थानमा पार्टीका पक्षमा नयाँ सन्देश प्राप्त भएको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । ‘बिचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ,’ उपाध्यक्ष सापकोटाले भने ।

उप निर्वाचन नतिजामा पार्टीको जित संख्यामा पनि दोस्रो र जनमतमा पनि दोस्रो भएको सापकोटाले दाबी गरे ।