काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् ।
रास्वपा नेता दीपक बोहराले दिएको जानकारी अनुसार आज बिहान डा भट्टराई कास्की जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकारहरूसँगको कुराकानीमा लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताए।
‘रविजीप्रति सधैं सद्भाव छ, स्वास्थ्य कस्तो छ भनेर बुझ्न पनि आएको हुँ, स्वस्थ नै हुनु हुँदोरहेछ,’ उनले भने। उनले पचासौं लाख साना बचतकर्ताहरूको समस्या हल गर्नतिर सरकार नलागेको पनि बताए।
एकातिर लामिछानेमाथि कारबाही प्रक्रिया लम्ब्याएर अर्कातिर सहकारी पचासौं लाख त्यस्ता बचतकर्ताहरूको समस्यालाई विषयान्तर गर्न खोजिएको भट्टराईको भनाइ छ।
‘सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदैछ, राज्यले चाह्यो भने गर्न सक्छ। पहिला स-साना बचतकर्ताहरूलाई राहत दिने र पछि ज-जसले अपचलन गरेका छन् तिनको सम्पत्ति जफत गरेर राज्यले लिए भयो त,’ उनले भने।
आफूसँगको भेटमा लामिछानेले पनि राज्यले प्रतिशोध साधेको बताएको भट्टराइले सुनाए। यद्यपि राज्यलाई सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताएको भट्टराइको भनाइ छ।