जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टिम

काठमाडौँ  —   नेपाल प्रिमियर लिगमा प्लेअफ पुग्ने पहिलो जनकपुर बोल्ट्स बनेको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जकपुरले १ खेल अगावै प्लेअफमा स्थान बनाएको हो।

६ खेलमा जनकपुरले ५ खेल जितेको छ। ऊ बुधबार सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। सम्भवतः ऊ शीर्ष २ मा रहँदै क्वालिफायरमा पुग्नेछ ।  यता, पाँचौं खेलमा तेस्रो हारपछि काठमाडौंको प्लेअफ सम्भावना केही कमजोर बनेको छ।

काठमाडौंले दिएको १०२ रनको प्रतियोगिता सानो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि जिमी निशमले सर्वाधिक २७ रन बनाउँदा हर्ष थाकरले २५, लहिरु मिलन्थाले १६ तथा मोहम्मद मोहसिन खान १३ र अनिल साहले ११ रनको योगदान दिए।

बलिङमा काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए भने साहब आलम, जेरार्ड इरास्मस र दिपेश कँडेलले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको थियो।

यो जारी एनपिएलमा पहिलो इनिङमा कम योगफल हो। यसअघि बुधबार काठमाडौं नै १०३ रनमा अलआउट भएको थियो। तर, सो खेल काठमाडौंले जितेको थियो।

जनकपुरविरुद्ध काठमाडौंका लागि जेरार्ड इरास्मसले सर्वाधिक २० रन बनाए। यस्तै, करण केसीले १९ र स्टेफन स्किनाजले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

काठमाडौंको इनिङ धरासायी बनाउने क्रममा जनकपुरका ललित राजवंशी र शेर मल्लले समान ३ विकेट लिए। ललितले ४ ओभरमा २ मेडनसहित ८ रन मात्र खर्चिए भने शेरले ३.३ ओभरमा ११ रन खर्चिए। यस्तै, मोहम्मद मोहसिन खानले २ विकेट लिए।