रविविरूद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्दा सरकारी वकिलले देखाएको आधार

काठमाडौँ — रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर अभियोगपत्रमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले सम्पत्ति शुद्धिकरणको कसुर स्थापित हुने आधार र कारण खुलाएको छ।

सहकारीबाट आएको रकम व्यक्तिगत तथा संस्थागतरूपमा धारण गर्ने, रूपान्तरण गर्ने, हस्तान्तरण र प्रयोगसमेत गर्ने गरेको दाबी अभियोगपत्रमा छ।

लामिछानेले कसुरबाट प्राप्त सम्पत्ति भन्ने थाहा पाउँदापाउँदै विभिन्न गतिविधिबाट सम्पत्ति शुद्धीकरण गरेको स्पष्टरूपमा देखिएको दाबी सरकारी वकीलको छ।

Laxmi sunrise bank 2034

गितेन्द्र बाबु राई (जिबी राई) समेतले संगठितरूपमा योजनाबद्ध तवरबाट सहकारीको निक्षेप रकम अपचलन गर्ने समूहमा आबद्ध भई यी प्रतिवादी रवि लामिछानेले व्यक्तिगत खाता तथा निज आबद्ध गोर्खा मिडिया नेटवर्क प्रालि समेतमा रकमान्तर भई आएको रकम व्यक्तिगत तथा संस्थागतरूपमा उपयोग, धारण र प्रयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगपत्रमा किटानी छ।

यस्तै, लामिछानेले अनुसन्धानका क्रममा दिएको बयानमा आफू प्रबन्धक तथा सेयरधनी रहेको कम्पनीमा आएको रकमबारे अनभिज्ञता प्रकट गरेको समेत अभियोगपत्रमा उल्लेख छ।

आफू सेयरधनी रहेको संस्थामा भएको लगानीको स्रोतबारे अनभिज्ञता प्रकट गर्नुलाई  अभियोगपत्रमा अपराध लुकाउने मनशाय रहेको भनिएको छ।

अभियोगपत्र अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिको लिडिङ कम्पनीको रूपमा रहेको जिबी ग्रुप अफ कम्पनीबाट बरामद दस्तावेजमा गोर्खा मिडिया नेटवर्कको ‘इन्भेस्टमेन्टओभरभ्यू’मा स्पष्टरूपमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारीबाट लगानी गर्ने योजना रहेको देखिएको जनाइएको छ ।

‘सहकारीबाट आएको रकम व्यक्तिगत तथा संस्थागतरूपमा धारण गर्ने, रूपान्तरण गर्ने, हस्तान्तरण तथा प्रयोगसमेतका कार्य गरेको देखिँदा यी प्रतिवादीले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै उल्लिखित गतिविधि गरेबाट निजले सम्पत्ति शुद्धीकरण गरेको स्पष्टरूपमा देखिन आयो,’ अभियोगपत्रमा उल्लेख छ ।

Shivam Cement

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिमा आबद्ध भएछि सन् २०२१ जनवरी १८ मा सूर्यदर्शन बचत तथा ऋण सहकारीको नाममा सञ्चालनमा रहेको साविक मेगा बैंकको खाता नम्बर ०१२०००१००१५१३२ को चेक नम्बर २०२४८९५३१७ बाट जिबी राईको स्ट्यान्डर्ड चार्टड बैंकको खाता नम्बर १८२९०३१७२०१ मा दुई करोड रुपैयाँ जम्मा भएको प्रमाण समेत अभियोगपत्रसाथ अदालतमा पेश गरिएको छ।

उक्त रकममध्ये सन् २०२१ जनवरी २१ मा चेक नम्बर ००११९२८१६८ बाट रवि लामिछानेको नाममा रहेको ग्लोबल आईएमईको खाता नम्बर ३०–७०१०००५९–१३ मा ७५ लाख रुपैयाँको चेकमार्फत जम्मा भएको देखिएको छ ।

लामिछानेले ७५ लाख रुपैयाँ नै गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ००४०१०१००००५७७ मा सन् २०२१ जनवरी २२ मा जम्मा गरेको दाबी अभियोगमा गरिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्र बाबुको खातामा रकमान्तर भएको, उक्त रकम मध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरिएको, पुनः गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा रकमान्तर तथा हस्तान्तरण गरिएको, अवैध तवरबाट उक्त प्राप्त गरी लामिछानेले आफ्नो खातामा धारण गरेको र पुनः ट्रान्स्फर गरेको देखिएको लगायत थुप्रै आधार अभियोगपत्रमा खुलाइएको छ ।

‘लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसमेतबाट गैरकानूनी तवरले सहकारीको भावना तथा मर्मविपरीत कर्जाबापत तथा सहकारीको खाताबाट विभिन्न व्यक्तिका खातामा रकमान्तर गरिएको रकम विभिन्न व्यक्तिहरू तथा कम्पनीबाट नगद तथा चेकमार्फत प्रयोग तथा धारण गरी प्रतिवादीले सम्पत्तिको सही प्रकृति बदल्ने सो उपरको अधिकार र स्वामित्व लुकाउने र छल्ने, धारण तथा प्रयोग समेतका कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि हुन आयो’, अभियोगपत्रमा उल्लेख छ ।