रुकुम पूर्व — नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूले ल्याएको दाबी गरेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए।
‘एमालेका नेताहरू आएर बिआरआई पनि भयो, अब कम्युनिस्टहरू मिलौँ भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरू विकल्पमा छलफल गरौँ भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौँ,’ उनले भने, ‘तर, हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र बिचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौँ । यो हाम्रो प्रतिबद्धता हो ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए ।
‘हामी अब सरकारमा जाने होइन । ०८४ सम्म जाँदैनौँ भनेका छौँ । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौँ । अब हामी समाजवादी गणतन्त्रको विकल्पसहित सरकारमा भएका स्थानीय तहहरूमा काम गर्छौँ । हिजो हामी क्रान्तिकारी शक्ति थियौँ । कांग्रेस एमालेसँग मिल्दा उनीहरूजस्तै हो कि भनेजस्तो देखियो । तर, होइन । हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौँ,’ उनले भने ।
‘सरकार भ्रष्टाचार र विकृतिमा एकपछि अर्को काम गर्दै गएको छ । जनताले एक दिन प्रतिरोध गर्छ, हामी जनतासँग हुनेछौँ । दिनदिनैको गणितीय खेलमा हामी लाग्दैनौँ । सरकार आफैँ कुहिएको, भत्किएको वा झरेको अवस्थामा के गर्ने त्यतिवेलै सोचौँला,’ उनले कार्यक्रममा भने ।
श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनले बताए । ‘हाम्रा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको काम र विपक्षमा हुँदा जनताका एजेन्डा उठाएकै कारण जनताले उपनिर्वाचनमा हामीलाई सहरी क्षेत्रमा समेत धेरै मत दिनुभएको छ । सरकार र विपक्षमा बस्दा माओवादीले राम्रो काम गरेकैले जनमत बढ्दै गएको छ,’ उनले दाबी गरे।
देशमा अहिले पनि सरकारका कारण कुनै पनि वेला बंगलादेशको अवस्था आउने खतरा रहेको उनले टिप्पणी गरे।
‘सरकार एकपछि अर्को गलत काम गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसीविरुद्ध सरकारले हस्तक्षेप गरिरहेको छ, राम्रो काम गरिरहेको विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्नेजस्ता कामबाट जनता निराश छन् । त्यसैले हामी जनताका एजेन्डा बोक्दै जनतासँगै रहन्छौँ,’ उनले भने।