पर्सा — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन् । नेकपा (एमाले) को पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने- “अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइएसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।”
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताए । उनले स्थानीयवासीको माग बमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नती गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाए ।