काठमाडौँ — चालक दलका ६ सदस्यसहित १८१ जना सवार दक्षिण कोरियाली जहाज दुर्घटनामा मृत्यु भएका २ जना मात्रै थाइल्याण्डका नागरिक रहेको खुलेको छ।
दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहाप न्युजले अनुसार जहाजमा २ जना थाई नागरिकबाहेक बाँकी सबै दक्षिण कोरियालीहरू नै रहेको जनाएको छ।
थाइल्याण्डको बैंककबाट दक्षिण कोरिया आएको जेजु एयरको ७ सी २२१६ बोइङ जहाज जियोल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे दुर्घटना भएको थियो।
अवतरणका क्रममा ल्याण्डिङ गियरमा खराबीका कारण जहाजको पांग्रा ननिस्कँदा धावनमार्गमा चिप्लिएको थियो।
तीव्र गतिमा चिप्लिएको जहाज धावनमार्गको छेउमा रहेको कंक्रिटको पर्खालमा ठोक्किएर आगलागी भएको थियो।
दुर्घटनालगत्तै २ जना चालक दलका सदस्यलाई भने उद्धारकर्ताले जलिरहेको भागबाट तानेर उद्धार गरेका थिए। उनीहरुको उपचार जारी रहेको र खतरामुक्त रहेको योनहाप न्युजले जनाएको छ।
आइतबार बिहान ९ बजे दुर्घटनामा भएकोमा अपराह्नसम्म पनि खोजी कार्य जारी छ। उद्धार गरिएका २ बाहेक बाँकी १७९ जनाकै मृत्यु भएको त्यहाँका अधिकारीहरूले विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई जानकारी दिएका छन्।
अपराह्ननसम्म १७७ जनाको शव भेटिएको र दुई जना अझै बेपत्ता रहेको बताइएको छ। खोजी र उद्धारका लागि सयौंको संख्यामा सुरक्षाकर्मी खटाइएको छ।
जहाज दुर्घटना भएको मुआन विमानस्थलमा यात्रुका परिवार र आफन्तको भिड लागेको छ।
भेटिएका शवहरू अधिकांश जलेका अवस्थामा छन्। दक्षिण कोरियाली सरकारले विमानमा सवार यात्रुहरूको थप विवरण उनीहरूका आफन्तहरूसँग मागेको छ।
विमानमा चरा ठोक्किएपछि दुर्घटना भएको भन्ने विवरणहरू पनि सार्वजनिक भएका छन्। यसबारे थप अनुसन्धान गर्नका लागि छानबिन समिति बनाइने दक्षिण कोरियाको भूमि मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
छानबिनका लागि ६ महिनादेखि तीन वर्षसम्म लाग्नसक्ने पनि भनिएको छ।