
काठमाडौँ — नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

आफूले स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । उनले देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने प्रतिवद्धता समेत जनाएका छन् ।
खनालले २६ औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । उनी औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए ।
२०७९ सालको निर्वाचनमा उनी एमालेबाट काठमाडौं क्षेत्र नं ६ मा उम्मेद्वार रहेका थिए तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल पराजीत भए । यस्तै तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिए । तनहुँ १ मा पनि रास्वपा नेता स्वर्णिम वाग्लेले विजयी भए । खनाल तनहुँमा तेश्रो भएका थिए ।