रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौँ – राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्।

कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहीबार राति हिरासतमुक्त भएका लामिछाने आज आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका हुन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेर मुद्दा चलाएको छ।

बिहीबार राति हिरासतमुक्त भएपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की नजिकै रहेको फिस्टेल अस्पतालमा पुगेर स्वास्थ्य परिक्षण गराएर पोखराको लेकसाइडस्थित उनका सहकर्मीहरू बसेको होटलमा बस बस्न पुगेका थिए। राती नै उनले आफ्ना शुभचिन्तक, आफन्त, नेता र कार्यकर्ताहरूलाई भेटेका थिए।

यता आफ्नो पार्टी सभापति हिरासतमुक्त भएको थाहा पाउने बित्तिकै पार्टी उपसभापति स्वर्णिम वाग्ले तनहुँमा निर्धारित आफ्नो सबै कार्यक्रमहरू छाडेर राती नै पोखरा पुगेका थिए।

यसैबीच अदालतको आदेशले अन्य छ जना धरौटी राखेर छुटे पनि लिला पछाई भने धरौटी राख्न नसक्दा जेल चलान भएकी छन्।

अन्य प्रतिवादीहरू पूर्व डीआईजी छविलाल जोशी ८८ लाख रुपैयाँ, आरती गुरुङ र मीना गुरुङ ५-५ लाख तथा कृष्णबहादुर गुरुङ एक लाख रुपैयाँ अदालतले तोकेको धरौटी राखेर बिहीबार राती नै हिरासतमुक्त भएका छन् भने लीला पछाईँलाई अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन्।