
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई संसदमा एक ढिक्का भएर एउटै स्वर र एउटै धारणा प्रस्तुत गर्न निर्देशन दिएका छन्।
शनिबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, सांसद र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा देउवाले कुनै असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसदभित्र तथा बाहिर व्यक्तिगत धारणा होइन, पार्टीको आधिकारिक धारणा प्रस्तुत गर्न आग्रह गरे।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले संसदमा पार्टी एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएको बताए। ‘यदि कुनै समस्या छन् भने त्यसलाई संसदीय दलको बैठकमा छलफल गरेर समाधान गर्नुहोला। संसदमा र बाहिर पार्टीको एकताबद्ध आवाज सुनिनुपर्छ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै सचेतक घिमिरेले भने।
बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, संसदमा प्रस्तुत भएका विधेयक, अध्यादेश, र आउँदा विधेयकहरूबारे गहन छलफल भएको थियो। सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले सरकारले चालिरहेका कदम र आर्थिक गतिविधि चलायमान बनाउन ल्याइएको अध्यादेशबारे जानकारी गराएका थिए।
प्रमुख सचेतक घिमिरेका अनुसार मुलुकको आर्थिक पक्षमा सुधार आवश्यक भएकाले केही विधेयक संशोधन गरेर आर्थिक गतिविधि अघि बढाउन अध्यादेशमार्फत प्रक्रिया अघि बढाइएको हो।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीर गृहकार्य थालेको जानकारी दिए। उनले संशोधनका लागि छुट्टै संयन्त्र बनाइने र त्यसलाई प्रभावकारी बनाउन गृहकार्य भइरहेको बताए।
‘संविधान संशोधनका विषयमा सरकारले पार्टीगत र सरकारगत संयन्त्रमार्फत गम्भीर रूपमा काम अघि बढाउने तयारी गरेको छ। संसदमा लामो समयदेखि विचाराधीन विधेयकहरूलाई कार्यान्वयन गर्न अध्यादेशमार्फत प्रक्रिया छिटो बनाइएको हो। यसलाई सबैले सकारात्मक रूपमा लिएका छन्,’ महतले भने।
प्रवक्ताका अनुसार, आर्थिक गतिविधि चलायमान गर्न र विधेयक पारित गर्ने प्रक्रियालाई तीव्र बनाउन सरकार सक्रिय रहेको छ। अध्यादेश संसदमा चाँडै प्रस्तुत गरिने र यसले आर्थिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।