बालिका यौन दुर्व्यवहार आरोपमा मदन राई दोषी ठहर

काठमाडौँ  —  कृषि विज्ञका रूपमा परिचित मदन राई बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर भएका छन्।

खोटाङमा आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा अध्ययनरत बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत खोटाङले राईलाई दोषी ठहर गरेको हो।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो। राईमाथि सजाय निर्धारणका लागि माघ २५ गतेका लागि अर्को पेसी तोकिएको अदालतका सूचना अधिकारी सुदीप भट्टराईले बताए।

Nobel Medical college

२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै राईविरुद्ध सजाय मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय मागदाबी गरिएको थियो।

उक्त ऐनअनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।