
काठमाडौँ — गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा स्थानीयवासीमाथि गोली बर्षाएको घटनामा सांसदहरूलाई छलफलका लागि बोलाएका छन्।
गृहमन्त्रालय स्रोतका अनुसार ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधिसभा सांसदहरूलाई मंगलबार साँझ ५ बजे मन्त्रालयमा बोलाइएको छ।
गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। प्रहरीको गोली लागेर ‘नो केबलकार’ समूहका चारजना घाइते भएका थिए। त्यस्तै प्रदर्शनकारीको ढुंगामुढाले लागेर प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए।
स्थानीयवासीले पाथीभरामा केबलकार निर्माणको सुरुदेखि नै विरोध गर्दै आएका छन्। पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले कात्तिक २३ गतेदेखि केबलकार निर्माणको काम सुरू गरेको थियो।