प्रकृतीका पिता भन्छन्- ‘हाम्रो माग न्याय हो अरु केही चाहिँदैन’

काठमाडौं — भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत रहेकी नेपाली छात्रा मृतक प्रकृती लम्सालका पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन्।

मंगलबार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे।

उनले भने, ‘यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ। पोष्टमार्टमको रिपोर्ट पनि आउन बाँकी छ। सूचना पाएको छौं कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो। बाँकी हामीलाई केही थाहा छैन।’

उनले त्यहाँको कानूनी प्रक्रिया सकेर छोरीको शव सके आज नसके भोलिसम्म नेपाल लैजाने जानकारी दिए।

‘लिएर त जानै छ। हेरौं के हुन्छ। तर प्रोसिडियर हुन्छ। एउटा देशबाट अर्को देश लाने कुरा हो। सकेसम्म आज भए आज नभए भोलि लैजाने छौं। हाम्रो माग भनेको न्याय हो अरु केही छैन, मात्र न्याय हो।’

यस्तै उनले घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेर सहि नगरेको पनि बताए।

आफू आएपछि सोमबार युनिभर्सिटीसँग कुरा भएको र राम्रो समन्वय गरिरहेको उनले बताए जानकारी दिए।