सरकारको काममा व्यस्त हुँदा आफ्नै निर्वाचन क्षेत्रलाई समय भएन, अब आइरहन्छुः प्रचण्ड

काठमाडौं — नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रलाई पर्याप्त समय दिन नपाएको बताएका छन्।

गोरखाको गोरखा नगरपालिका-१४ गोप्लिङस्थित एकै घरबाट तीनजना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँग भेटघाटमा आइरहने बताए।

आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिंदै उनले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गरे।

त्यस्तै उनले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र उनीहरू देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताए।

उनले भने, ‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरू भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो। यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरू देशका साझा सहिद हुन्, उनीहरूको सम्मान गर्नु राज्यको दायित्व हो।’

सो क्रममा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका-१४ गोप्लिङ निवासी सहिदहरूका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गरेका थिए। उनका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरू सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा मृत्यु भएको थियो।