
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सक्ने बताएका छन्।
शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीका लागि आफूहरू संविधान संशोधन गर्न तयार रहेको प्रस्ट्याए।
उनले भने, ‘संविधान निर्माणको वेला नै हामीले केही रिजर्भेसन राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्त्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’
०८४ सालको निर्वाचनमा माओवादी एक्लै चुनावमा जाने बताउँदै प्रचण्डले कांग्रेस र एमालेबिच सो समयमा पनि गठबन्धन गर्न चुनौती दिए।
‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबिच गठबन्धन गरियो। उनीहरूले ०८४ मा पनि गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु उनीहरू मिलून्। हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपिल छ– तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।’