
काठमाडाैं — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा गरेसँगै शेयर बजारमा हरियाली छाएकाे छ । केन्द्रीय बैंकले मंगलबार साँझ मौद्रिक नीतिको समिक्षा गरेको थियो । मौद्रिक नीतिको समिक्षासँगै बुधबार बन्द रहेको बजार बिहीबार खुल्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५० अंकको हाराहारीमा वृद्धि देखिएको हो ।
आज शेयर बजार मापक परिसूचक नेप्से ४९ दशमलव १५ अंकले बढेर २,८१५ को विन्दुमा कायम भएको छ । आज १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनकिो घटेको छ । आज दिनभरिमा ३ सय कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस कम्पनीको शेयर कारोबारमा आएको पहिलो दिनबाटै नै सकारात्मक सर्किट लाग्दै आइरहेको छ । अपर हेवाखोलाका लगानीकर्ताले पनि १० प्रतिशतका दरले नै कमाएका छन् ।
सिन्धु विकास बैंक र दोर्दी खोलाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् । बैंकिङ्ग समूहकाे ३.३२ प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१२ प्रतिशतसहित १३ वटै समूहको शेयर मूल्य बढेको छ ।