
काठमाडौं — अमेरिकाले यमनमाथि आक्रमण सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मले यमनका हुती विद्रोहीविरुद्ध अमेरिकाले ‘निर्णायक र शक्तिशाली’ आक्रमण सुरु गरेको जानकारी दिएका छन्।
‘इरानले आर्थिक सहयोग गरेर संरक्षण गरिरहेको हुति विद्रोहीका आश्रयस्थलहरूमा अमेरिकाले आक्रमण थालेको छ। आक्रमणको पहिलो दिनमा १५ जना विद्रोही मारिएको हुती संगठनले जनाएको छ।
यसअघि यो विद्रोही समूहले इजरायल-हमास युद्धका बेला अमेरिकी लडाकु बिमानहरूमाथि प्रहार गरेको थियो। यो समूहलाई इरानले सहयोग गरिरहेको छ र इजरायलले यसलाई आफ्नो ‘दुश्मन’ संगठन ठान्छ। यमनको उत्तर पश्चिममा यो विद्रोही समूहको नियन्त्रित सरकार छ। तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्यता दिएको छैन।
गत वर्ष हुती विद्रोहीहरूले लाल सागरमा कैयौं मालबाहक पानी जहाजहरू ध्वस्त पारिदिएको थियो। अहिले लाल सागरको सुरक्षाका लागि अमेरिकी तथा बेलायती सैनिकहरू तैनाथ छ। यो महासागर विश्व आपूर्ति चक्रको एउटा मूल बाटो हो। हुती विद्रोहीहरूले अहिले पनि अमेरिकी र बेलायती ध्वजाबाहक जहाजहरूलाई निशाना बनाइरहेका छन्। विश्वको लगभग १५ प्रतिशत सामुद्रिक ब्यापार यही सागरबाट हुन्छ।
हुती यमनको अल्पसंख्यक शिया जैदी समुदायको एक हतियारधारी संगठन हो। १९९०को दशकमा त्यहाँका तत्कालीन राष्ट्रपति अब्दुल्लाह सालेहविरुद्ध आन्दोलनका लागि गठन भएको यो समूह विस्तारै खतरनाक सशस्त्र संगठन बन्यो।
ट्रम्पले हुती विद्रोहीलाई पूर्णरुपमा नष्ट गरिने चेतावनी पनि दिएका छन्। ‘हुती विद्रोहीमाथि यस्तो विनाशकारी वर्षा हुनेछ कि उनीहरूले त्यसको कल्पना नै गर्न सक्नेछैनन्’ ट्रम्पले भनेका छन्।