काठमाडौं, फागुन १८ गते । काठमाडौं महानगरपालिका ७५३ वटै पालिकाका प्रतिनिधिको उपस्थितिमा ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । महानगरपालिकाले यही चैत १५ र १६ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा उक्त सम्मेलनको आयोजना गर्ने भएको हो ।
उक्त सम्मेलनमा सहभागीताका लागि महानगरपालिकाले ७५२ वटै पालिकालाई निमन्त्रणा पत्र पठाएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले जानकारी दिनुभयो ।
‘सबै पालिकालाई इमेलमार्फत निमन्त्रणा पत्र पठाएका छौँ,’ डंगोलले भन्नुभयो, ‘पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्य मध्येबाट सहभागिता जनाउन अपील गरेका छौँ ।’
सम्मेलनमा न्यायिक समितिसँग सम्बन्धित कुरा मात्रै हुने भन्दै डंगोलले सम्मेलन सबै पालिकाले अहिलेसम्म गरेको असल अभ्यासको आदन–प्रदानका लागि प्रभावकारी हुने अपेक्षा गरेको बताउनुभयो ।