काठमाडौं, चैत १६ गते । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन भर्न स्थानीय तहहरुले सघाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
श्रम मन्त्रालय समेत हेरिरहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले यस्तो निर्णय गर्नुभएको हो । यसअनुसार श्रम स्वीकृतका लागि अनलाइन आवेदन भर्न केन्द्रले सहजीकरण गर्नेछन् ।
अहिले सबै प्रकारका श्रम स्वीकृतिका लागि श्रमिकले घरबाटै आवेदन दिन सक्छन् । सरकारले १ वैशाखसम्म सेवा केन्द्रहरुको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ ।
वैदेशिक रोजगार कार्यालय ताहाचलका सूचना अधिकारी नवराज बोहोरा सरकारको निर्णयले आफैं अनलाइन फारम भर्न नसक्नेहरुलाई सहज हुने बताउनुभयो । ‘७५३ वटै स्थानीय तहबाट यस्तो सेवा पाउँदा सेवाग्राहीले सहज महसुस गर्न पाउँछन’ उहाँ बताउनुहुन्छ ।