काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : महामन्त्री शर्मा

इलाम,माघ १७ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनु भएको छ ।

आत्मदाह गरेका प्रेम आचार्यको परिवारसँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली काँग्रेसले प्रस्ताव गरेकै व्यक्ति जुनसुकै परिस्थितिमा राष्ट्रपति बन्ने बताउनु भयो ।

महामन्त्री शर्माले काँग्रेस सहितको सहभागितामा प्रस्ताव गरिएको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व कायम गरिने विश्वास व्यक्त गर्नु भयो । राष्ट्रपतिको भन्ने विषयमा भने काँग्रेस सहितको सहभागितामा टुङ्गो लगाइने उहाँको भनाई थियो । उहाँले राष्ट्रपतिका लागि पार्टी भित्र लामो त्याग भएका एक सय एक योग्य नेतृत्व भएको दाबी गर्नुभयो । उहाँले संविधानको संरक्षक बन्ने व्यक्ति नै राष्ट्रपति हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले काँग्रेसको मतभार मात्र राष्ट्रपति बन्नका लागि पर्याप्त नभएकाले अन्य दलसँग समेत छलफल अघि बढाएको जानकारी दिनुभयो । शर्माले भन्नुभयो ‘२५÷२६ हजार मतभार चाहिन्छ हामीसँग केबल १६ हजार मतभार छ , त्यसले अन्य दल सँग छलफल जरुरी छ ।’

शर्माले गएको सङ्घ र प्रदेशको निर्वाचन पछि गठबन्धन तोडिदा काँग्रेसले गुमाएको पद र प्रतिष्ठाको बारेमा केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमिक्षा गरेर जिम्मेवार दलको भूमिका निर्वाह गर्दै अगाडी बढ्ने बताउनुभयो ।

शर्माले आत्मदाह गर्नु भएका इलामको सूर्योदय नगरपालिका ११ केराबारीका प्रेम आचार्यको परिवारसँग लामो छलफल गर्नुभयो । उहाँले आचार्यका हजुरबुवा सहित आमा निर्मला , श्रीमती नानुका र छोरीहरूसँग कुरा गर्दै प्रेमले उठाएका मुद्दा ओझेल पर्न नदिने बताउनुभयो ।