
काठमाडौं, जेठ ३२ गते । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्नुभयो । त्यसक्रममा उहाँले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको बताउनुभयो ।
सुनुवाइ समितिको अर्को बैठक शुक्रबार ८ बजे बस्नेछ । शुक्रबारको बैठकमा सवाल जवाफ हुने तय भएको छ । कामु प्रधानन्यायाधीश समेत रहनुभएका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस हुनुभएको थियो ।
संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।